सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बिजेताहरूको खोज यस्तो

“नवप्रवर्तन र रचनात्मक विनाशको माध्यमबाट दीर्घकालीन आर्थिक वृद्धि” बारेको शोध, अध्ययन तथा विश्लेषण गर्ने अर्थशास्त्रीहरू सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

नवप्रवर्तन (Innovations) र रचनात्मक विनाश (Creative destruction) मा आधारित आर्थिक वृद्धिको व्याख्या गरेका जोएल मोकिर (Joel Mokyr), फिलिप अघियन (Philippe Aghion) र पिटर होविट (Peter Howitt) लाई यस वर्षको विश्व प्रतिष्ठित पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

आधा पुरस्कार प्राप्त गरेका मुख्य योगदानकर्ता मोकिरले कसरी वैज्ञानिक ज्ञान, व्याख्या र समाजमा नयाँ विचारप्रतिको खुलापनले प्राविधिक प्रगतिलाई निरन्तर बनाउँदछ र त्यसले दीर्घकालीन आर्थिक वृद्धिको आधार निर्माण गर्छ भन्ने तथ्य उजागर गरेका छन् । उनले दीर्घकालीन आर्थिक वृद्धिका लागि प्रविधि विकासका पूर्वशर्त र इतिहासमा यसले खेलेको भूमिकाको बारेमा गहिरो अध्ययन गरेका छन्‌ । उनले देखाएका छन् कि प्रविधि र नवप्रवर्तनको सफल चक्र जारी राख्न विज्ञानको व्याख्या आवश्यक छ ।

त्यसैगरी बाँकी आधा पुरस्कार प्राप्त गरेका अघियन र होविटले रचनात्मक विनाश (Creative Destruction) को सैद्धान्तिक अवधारणा प्रस्तुत गरी नयाँ प्रविधि र उत्पादनले पुरानो तरिकालाई विस्थापन गर्दै कसरी दीर्घकालीन आर्थिक वृद्धि सम्भव गराउँदछ भन्ने तथ्य उजागर गरेका छन् ।

उनीहरूले व्याख्या तथा विश्लेषण गरेको दीर्घकालीन आर्थिक वृद्धिको नियमले विश्वभर आर्थिक समृद्धि, जीवनस्तर, स्वास्थ्य र गुणस्तर सुधारमा योगदान पुर्‍याएको छ ।

उनीहरूको अनुसन्धानले नियमित नवप्रवर्तन र व्यवस्थित नीतिबिना दीर्घकालीन आर्थिक वृद्धि हासिल नहुने विषयलार्इ जोड दिएको छ । उनीहरूको खोजको प्रभावबाट नीति अर्थशास्त्रीहरू, नीति निर्माता, तथा अनुसन्धानकर्ता नवप्रवर्तन र प्रविधि परिवर्तनलाई समेटेर दीर्घकालीन समृद्धि सुनिश्चित गर्ने उपायमा अग्रसर हुन थालेको पाइन्छ । यस अनुसन्धान तथा खोले विश्वका धेरै मुलुकको आर्थिक नीति र प्रविधिमा सुधार ल्याएको छ‌ ।

दीर्घकालीन आर्थिक विकासमा नवप्रवर्तन अनिवार्य रहेको र नवप्रवर्तनसँगै पुराना कम्पनी तथा प्रविधि पछाडि पर्ने पर्दछन । यसबाट सिर्जित विजेता–पराजितबीचको द्वन्द्व (winners and losers conflict) लाई सकारात्मक ढंगले व्यवस्थापन नगर्ने हो भने नवप्रवर्तनमा अवरोध आउन सक्दछ । त्यसैले आर्थिक वृद्धिलाई जारी राख्न नवप्रवर्तनलाई समर्थन गर्नु अति आवश्यक हुने गर्दछ । यो व्याख्या तथा विश्लेषण जोसेफ सुम्पिटरको नवप्रवर्तनसम्बन्धी खोज तथा विश्लेषणबाट समेत प्रभावित देखिन्छ ।

रचनात्मक विनाश (Creative Destruction) को अवधारणा के हो?

अर्थशास्त्रमा नवप्रवर्तन र प्रविधि परिवर्तनका कारण पुराना उत्पादन, उद्योग वा प्रविधिहरू समाप्त हुँदै जानु र त्यसको सट्टामा नयाँ र राम्रो उपायहरूले स्थान पाउनु नै रचनात्मक विनाश हो । अघियन र होविटको शोध तथा अनुसन्धानका अनुसार, पुँजीवादी अर्थतन्त्रमा रचनात्मक विनाशको माध्यमबाट नै आर्थिक रूपान्तरण हुने गर्दछ भने नयाँ उद्यमी र आविष्कारकर्ताहरूले विद्यमान स्रोतको नयाँ संयोजन खोज्ने गरेकाले पुरानो तवरतरिका विस्थापित भएर नयाँ तवरतरिकाले स्थान लिन पुग्दछ । यस प्रक्रियाबाट पुराना कम्पनी, प्रविधि वा काम गर्ने तरिकाहरू हट्छन्‌ भने नयाँ र अझ बढी प्रभावकारी उपायहरू स्थापित हुने गर्दछ्न् । यसै कारण दीर्घकालीन रूपमा आर्थिक वृद्धि र सामाजिक समृद्धि सम्भव हुने गर्दछ ।

सङ्क्षेपमा भन्नुपर्दा ‘रचनात्मक विनाश’ पुँजीवादी अर्थतन्त्रको आधारभूत पक्ष हो, जसले नवप्रवर्तन (Innovation) लाई निरन्तरता दिई अर्थतन्त्र र समाजलाई गतिशील बनाउने काम गर्दछ ।

इतिहासमा देखिएका रचनात्मक विनाशका प्रमुख उदाहरणहरू

  • डिजिटल क्यामेरा : डिजिटल क्यामेराले फिल्म-आधारित क्यामेरा उद्योगलाई विस्थापित गर्‍यो । खासगरी Kodak कम्पनी डिजिटल प्रविधि समयमै अंगाल्न नसकेकाले अन्ततः हरायो।
  • मेल: ई-मेलको विकासले परम्परागत पत्र, पोस्टल सेवा, टेलिग्राम, फ्याक्स आदिलाई ह्रास ल्यायो र नयाँ सूचना संचार माध्यमको विकास गर्‍यो।
  • मोबाइल फोन: मोबाइल फोनको आगमनले ल्यान्डलाइन टेलिफोन तथा टेलिकम उद्योगको परम्परागत स्वरूपलाई बदलिदियो ।
  • स्मार्टफोन: स्मार्टफोनको आविष्कारले न केवल मोबाइल फोन निर्माता (जस्तै: Nokia, RIM) लाई समाप्त गर्‍यो, बरु PDA, MP3 प्लेयर, डिजिटल क्यामेरा आदिलाई पनि अप्रसांगिक बनायो ।
  • LCD/LED टेलिभिजन: LCD प्रविधिले पुराना CRT टेलिभिजन र निर्माता फर्महरूलाई प्रतिस्थापन गर्‍यो।
  • वर्ड प्रोसेसिङ्ग सफ्टवेयर: कम्प्युटरमा वर्ड प्रोसेसरको विकासले टाइपराइटर तथा सम्बन्धित उद्योगहरूमाथि विनाशकारी असर गर्‍यो।
  • पेन ड्राइभ सोलिट स्टेट डिस्क (SSD): फ्ल्यास मेमोरीमा आधारित पेन ड्राइभ र SSD ले, फ्लपी डिस्क, CD-ROM, हार्ड-डिस्कजस्ता पुरान प्रविधि विस्थापन गर्दै लगेका छन् ।
  • टेलिफोन स्वचबोर्ड: स्विचिङ प्रविधिको आगमनपछि टेलिफोन अपरेटरको रोजगारी गुम्यो, तर सेवागुणस्तर र उत्पादनशीलता बढ्यो ।
  • कृषिमा यान्त्रीकरण: एक सय वर्षअघि अमेरिका, बेलायत जस्तो देशहरुमा धेरै किसान कृषिमा थिए, आज अमेरिकामा दुई प्रतिशत जनशक्तिले निकै उच्च उत्पादन गर्न सक्ने भएको छ।
  • छपाइको लागि प्रेसको विकास: जर्मनीमा गुटेनबर्ग प्रेसको आविष्कारबाट हातले किताब लेख्ने पेशा समाप्त भयो, पुस्तौंपुस्तासम्म ठूलो सामाजिक असर देखियो ।

Educational Background of Researcher

बायाँबाट क्रमशः फिलिप अघियन (Philippe Aghion) पिटर होविट (Peter Howitt) र जोएल मोकिर (Joel Mokyr)

बायाँबाट क्रमशः फिलिप अघियन (Philippe Aghion) पिटर होविट (Peter Howitt) र जोएल मोकिर (Joel Mokyr)

Joel Mokyr, born 1946 in Leiden, the Netherlands. PhD 1974 from Yale University, New Haven, CT, USA. Professor at Northwestern University, Evanston, IL, USA and Eitan Berglas School of Economics, Tel Aviv University, Israel.

Philippe Aghion, born 1956 in Paris, France. PhD 1987 from Harvard University, Cambridge, MA, USA. Professor at Collège de France and INSEAD, Paris, France and The London School of Economics and Political Science, UK.

Peter Howitt, born 1946 in Canada. PhD 1973 from Northwestern University, Evanston, IL, USA. Professor at Brown University, Providence RI, USA.